काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।
अमेरिकाको डालसमा भएको खेलमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा पुरा गरेको हो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन जोडेका थिए । कुशल भुर्तेल र गुल्सन झाले समान २५ रन जोडे । आसिफ शेखले २१ रन बनाए ।
स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट हात पारे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन जोडेको थियो ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले समान विकेट तथा आरिफ शेखले १ विकेट लिए । तालिकाको सातौँ स्थानमा रहेको नेपालको १० खेलमा ५ अङ्क भएको छ ।