काठमाडौं : नेपालको आर्थिक सम्वृद्धि र शान्त नेपालमार्फत् विश्वशान्तिको सङ्कल्प लिएर नेपाल महर्षि वैदिक फाउण्डेसनले यही कार्तिक २१ देखि २५ सम्म भृकुटीमण्डप काठमाडौँमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ २०८१ को आयोजना गर्ने भएको छ।
महायज्ञ बारे आधिकारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहराज्य मन्त्री तथा फाउन्डेसनका अध्यक्ष दिपक प्रसाद बाँसकोटाले स्वर्ण महोत्सवका कार्यक्रमहरू ऐतिहासिक र स्मरणीय रहने बताए । कार्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको समुद्घाटन तथा नेपालका मौलिक साँस्कृतिक झाँकी तथा १०८ शंखघण्टसहित भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै शोभायात्रा हुने र महोत्सवको समुद्घाटनमा १०८ दीप प्रज्ज्वलनसहित कन्यापुजन गरिनेछ। कार्तिक २२ देखि – २४ गते ३ दिनसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन हुनेछ। त्यसैगरी कार्तिक २२ गतेदेखि २५ गतेसम्म १,१११ वैदिक वटुक तथा पण्डितद्वारा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ र कार्तिक २२ गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान तथा बेलुका योग र ध्यान कार्यक्रम सञ्चालन हुनेछन् ।
सन्त महात्मा तथा विशिष्ट व्यक्तित्त्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन, हरेक साँझ भागवत कथासारको प्रवचन, महर्षि महेश योगीद्वारा तात्कालीन समयमा एअरफोनमार्फत् भावातीत ध्यान सिक्ने जीवित ध्यानीहरूलाई सम्मान पनि गरिनेछ । महायज्ञका खास आकर्षण तथा विशेषताहरूमा अतिरुद्राभिषेक,विभिन्न वैदिक सूक्त तथा स्तोत्रहरूको पाठपारायणहरूको श्रवण गर्ने अपूर्व अवसर, प्राचीन वैदिक महायज्ञ दर्शनको सुवर्ण अवसर,सन्त महात्मा तथा विशिष्ट व्यक्तित्त्वहरूबाट आध्यात्मिक एवं दार्शनिक प्रवचन,वैदिक विज्ञान सम्बन्धी ज्ञान हासिल गर्ने अवसर,भावातीत ध्यान तथा सिद्धि साधक वैदिक बटुक पण्डितहरूद्वारा गरिने वैदिक अनुष्ठानको दर्शन आदि रहने बताइएको छ ।