काठमाडौं : नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरको भनेर लाइन काट्न सुरु गरेपछि उद्योगीहरुले विरोध गरेका छन् ।
प्राधिकरणले कात्तिक ८ गते ३४ वटा उद्योगले बक्यौता नतिरेको भन्दै लाइन काटेको थियो । आइतबार उद्योगीहरुले काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर प्राधिकरणले प्रयोग नै नगरेको विद्युत बक्यौता भन्दै लाइन काट्न सुरु गरेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारकाले नेपाल विद्युत प्राधिकरणले उद्योगीले प्रयोग नै नगरेको विद्युत पैसा तिर्न बाँकी भनेर लाइन काट्न फेरि सुरु गरेको आरोप लगाए । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको प्राधिकरणको भनाई छ ।