काठमाडौं : आज काठमाडौंमा राष्ट्रिय जलवायु सम्मेलन हुने भएको छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा होटल र्याडिसनमा हुने सम्मेलनको बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत हुन् । आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन कोप–२९ लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको छ।
सम्मेलनले आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सम्मेलनको उद्घाटनपछि मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्ने बताइएकोृ छ ।