काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ।
बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडियामा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने बताइएको छ । कास्की प्रहरीले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएकोले म्यादअवधी पश्चात रुपन्देही लगिने सम्भावना छ । अहिले पोखरामा सहकारी पीडित र रास्वपाले एकअर्का विरुद्ध आन्दोलन गरिरहेका छन् ।