झापा : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूले ज्ञानेन्द्र शाहलाई पूर्वराजा नभनेर राजा नै भन्ने बताएका छन् ।
आज बिर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई राजा नै भन्ने बताएका हुन् । सुरुमै उनलाई राजतन्त्र फेरि फर्केला त भनेर सोधिएको थियो । जवाफमा कोइरालाले पूर्व भनौं कि राजा भनौं, पूर्वै हो, तर म राजा भन्छु’, उनले भने, ‘इन्टरनेसनलमा पनि चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भनिन्छ, जिमी कार्टर नेपाल आउँदाखेरि हामीले मिस्टर प्रेसिडेन्ट भनेर नै एड्रेस गरेका थियौं ।’ आफूले ‘राजा’ भन्दा अन्यथा अर्थ नलगाउन कोइरालाले आग्रह गरे ।
राजा फर्कने सम्भावनाका विषयमा उनले भने, ‘हरेक देशमा यो बहस चलिराख्या हुन्छ । फ्रान्स जानुभयो भने पेरिसको चियापसलमा राजा फर्काउनुपर्छ भन्ने गफ भइराख्या हुन्छ । सयौं वर्ष भइसक्यो राजा गएको, तर फर्काउने बहस भइरहेको हुन्छ । मलाई लाग्दैन राजा फर्किन्छन् ।