विराटनगर : भगवती मानव कल्याण संगठनले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा पदयात्रा सम्पन्न गरेको छ ।
नशामुक्त नेपाल (समृद्ध नेपाल अभियान अन्तर्गत नशामुक्त पुरुष सम्पन्न नारी भन्ने नारासहित नारी दिवसको पूर्वसन्ध्यामा पदयात्राको आयोजना गरिएको हो। पदयात्रा बिराटनगर वडा नम्बर १२ स्थित श्री लक्ष्मीनारायण मन्दिरबाट शुरु भएर कोशी प्रोजेक्ट, रोडशेष चोक, बिराटनगर महानगरपालिका, शहिद रगंशाला, रामजानकी मन्दिर हुँदै वडा नं १० स्थित तिनटोलियामा रहेको भगवती मानव कल्याण संगठन को कार्यलयमा समापन भएको थियो ।
नारी दिवसको अवसरमा नशामुक्त नेपालको माग गर्दै तिनै तहका सरकारलाई खबरदारी गर्न पदयात्राको आयोजना गरिएको संगठनकी सचिव डा. मिनु सिग्देलले जानकारी दिनुभयो ।
पुरुष नशामुक्त नभएसम्म नारीको रक्षा गर्न नसकिने उहाँको भनाइ छ । सहभागिहरुले नशाको कारण कयौ परिवारको घर उजाडिएको भन्दै अब नारीहरुबाटै आवाज बुलन्द हुनुपर्ने धारणा राखेका थिए । नारी त हुन शक्तिको रुप, गराउनु छ केवल सबलाई जागरुक, नारी शक्तीको होस सम्मान ,नशालाई छोडौ बनौं महान, नशा होइन सम्मान देउ, अघि बढ्न अवसर देउ, सक्छिन नारी छुन आकाश, छ उनलाई मौकाको तलाश, जस्ता नारा लगाएका थिए । कार्यक्रम पश्चात संगठनले प्रशासनलाई घरेलु हिंसा, आपराधिक घटना एवम् सडक दुर्घटनाको प्रमुख कारण नशाजन्य पदार्थ रहेको भन्दै यसको उत्पादन र आयात बन्द गर्न आग्रह गर्दै ज्ञापन बुझाएको थियो ।