ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारले ५० प्रतिशत आर्थिक सहयोग गर्ने भएको छ । महिला सशक्तिकरण एवम् आधुनिक खेतीलाई प्रश्रय गर्ने उदेश्य सहित ललितपुरमा हाइड्रोप्रोनिक प्राविधिक तालिमका साथ आर्थिक सहयोग गर्ने भएको हो । मणिडों महिला समूह, मणिडों टोल सुधार समिति, शंखमुल आवास महिला समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई ललितपुर महानगरपालिका वडा नं. ११ ले संयोजन गरेको थियो । यस्तै कार्यक्रममा ग्लोबल क्रिएशन र टावर अर्गानिकको प्राविधिक सहयोग रहेका थियो भने प्रचार प्रसारमा रोटरी क्लब अफ पाटन हेरिटेजले संयोजन गरेको थियो । कार्यक्रममा बोल्दै वडा नं. ११ का वडाध्यक्ष आरोजकुमार खड्गीले तालिममा सहभागि महिलाहरुलाई हाइड्रोप्रोनिक खेतीका लागि ५० प्रतिशत आर्थिक सहयोग गर्ने योजना रहेको बताउनुभयो । वडाध्यक्ष खड्गीले माटो बिना पानीबाट हुने आधुनिक खेतीले महिलाहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, वडा नं. १२ का वडाध्यक्ष नारायण लाल अवाले, वडा नं. ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्य, वडा नं. ९ का वडाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा नं. १० का वडा सदस्यहरु अरविन्द सिंह र वावुरत्न महर्जन लगायतले महिलाहरुलाई हाइड्रोप्रोनिक खेतीमा आत्मनिर्भर बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाएका थिए । मणिडों महिला समुहकी अध्यक्ष सरस्वती तन्दुकारले हाइड्रोप्रोनिक प्रबिधिमा महिलाहरुलाई स्थानीय सरकारले गरेको सहयोगले आत्मनिर्भर बन्न आत्मविश्वास बढाएको बताउनुभयो ।
यस्तै कार्यक्रममा मणिडों टोलसधार समितिका अध्यक्ष राजेन्द्र तन्दुकारले वडाको सहयोगमा शिघ्र हाइड्रोप्रोनिक प्रविधिलाई अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबिच शंखमुल आवास महिला समूहकी अध्यक्ष सपना श्रेष्ठले गृहिणी महिलाहरु उर्वर भूमि र खालि स्थानको अभावमा खेती बाट बञ्चित भएता पनि हाइड्रोप्रोनिक खेतीले उनीहरुको सपना साकार हुने बताउनुभयो । ललितपुर वडा नं. ११ को कार्यालयमा आयोजित तालिममा ५८ जना महिलाहरुको उपस्थिती रहेको थियो ।