काठमाडौं : भगवती मानव कल्याण संगठन नेपालले आगामी माघ ४ गते राष्ट्ररक्षाको कामनासहित अखण्ड २४ घण्टे श्री दुर्गा चालिसा पाठ गर्ने भएको छ । संगठनले काठमाडौंको पुलतीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयमा माघ ४ गते दिनको ठिक १ बजे शुभारम्भ भएर भोलीपल्ट माघ ५ गते दिनको १ बजे समापन आरतीको कार्यक्रम राखेको हो। अनीति, अन्याय, अधर्म साथै भय, भोक र भ्रष्टाचारले ग्रसित समाजमा आध्यात्मिक चेतना स्तर खस्किँदै गएको सन्दर्भमा संगठनले दर्जनौँ शक्तिसाधकहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको जनाएको छ । संगठनले जन–जनमा माँ दुर्गाको चेतना शक्ति प्रवाह गर्ने उद्देश्य हेतु आगामी २०८२ साल बैशाख १२ र १३ गते लाखौँको सहभागितामा काठमाडौँमा नेपाल राष्ट्र स्तरीय द्विदिवसिय शक्ति चेतना जनजागरण शिविर को विशाल आयोजना गर्ने जनाएको छ । “राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर” नाम दिइएको विशाल शिविरको पूर्व तयारी स्वरुप संगठनले माघ ४ गते २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठको आयोजना गरेको संगठनकी सचिव डा.मिनु सिग्देलले बताउनुभयो । उक्त कार्यक्रममा समाज कल्याणमा समर्पित ११ विशिष्ट व्यक्तित्वहरुबाट आरती गराईने उहाँले बताउनुभयो ।
यस आयोजनामा भगवती मानव कल्याण संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराज” का प्रतिनिधिका रुपमा कार्यक्रमका प्रमुख अतिथि भारतको मध्यप्रदेश स्थित शहडोल जिल्लामा रहेको माता भगवती आदिशक्ति जगतजननी जगदम्बाको शक्तिपिठ पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रमबाट केन्द्रिय महासचिव सिद्धारश्रम रत्न श्रद्धेय श्री अजय अवस्थिज्यूको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ।
संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत योग, ध्यान, साधना एवम् शक्तिचेतना जनजागरण शिविरको माध्यमबाट नेपालका ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको र गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको संगठनका प्रचारमन्त्री नारायण सेँढाइले बताउनुभये । संगठनले घरदैलो अभियान अन्तर्गत विविध साधनात्मक कार्यक्रमको आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
संगठनले समाजमा आपसी भाईचारा बढाउने तथा नशामुक्त–मांशाहारमुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत, साम्प्रदायिकता आदि सामाजिक विकृति हटाएर सबै जाति–धर्म–सम्प्रदायलाई एकसुत्रमा बाँधेर समाजका बिच आध्यात्मिक वातावरण निर्मित गरेर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको संगठनका संगठनमन्त्त्री रामप्रसाद श्रेष्ठले बताउनुभयो ।
संगठनले १ घण्टाको आरती, ५ घण्टाको अखण्ड श्री दुर्गा चालिसा पाठ एवम् २४ घण्टे अखण्ड श्री दुर्गा चालिसा पाठको निःशुल्क रुपमा गर्दै आएको टिम प्रमुख कविता केसीले बताउनुभयो ।संगठनका काठमाडौँ उपत्यका उपाध्यक्ष तुलसीराम भण्डारीले आरती एवम् अखण्ड श्री दुर्गा चालिसा पाठ निशुल्क भइरहेको भन्दै आ–आफ्नो घरमा आयोजन गर्न आह्वान गर्नुभयो ।