काठमाडौं : भगवती मानव कल्याण संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका संस्थापक सञ्चालक परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको जन्मदिवसमा आयोजित कार्यक्रम सम्पन्न भएको हो । संगठनले काठमाडौँ महानगर वडा नं ३२ को कार्यालय, रेडक्रस सोसाईटी र कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिर प्रांङ्गणमा आयोजना भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेको संगठनकी सचिव डा मिनु सिग्देलले बताउनुभयो ।
डा. सिग्देल भन्नुहुन्छ, “रक्तदान गर्दा कुनै व्यक्तिको मृत्युको संकट त टर्छ नै, रक्तदान दिने व्यक्तिलाई लाभसमेत हुन्छ । मुटुको रोगको जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम हुन्छ। अतः सबैले नियमित रक्तदान गरे यसले परोपकार त हुन्छ नै तपाईको स्वास्थ्य लाभ पनि हुन्छ ।” रक्तदान कार्यक्रममा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । संगठनले विगत १६ बर्षदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको डा सिग्देलले बताउनुभयो।
यस्तै, संगठनले “एक वृक्ष राष्ट्रको नाममा” भन्ने मुल नारासहित २०८१ श्रावणदेखि देशव्यापी १ करोड वृक्षारोपण अभियान सञ्चालन गरेको छ । संगठनद्वारा आम जनसमूदायको सहयोगमा मेचिदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तिब्र रुप अघि बढिरहेको सचिव डा। मिनु सिग्देलले बताउनुभयो । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै नेपालमा हजारौँ व्यक्तिहरुलाई नशामुक्त गरिसकेको छ । संगठनले समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै आएको छ ।