काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ठगी र संगठित अपराध कसुरमा अनुसन्धानको लागि रुपन्देही लैजाने तयारी गरिएको छ ।
२ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन्। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । कास्कीमा लामिछानेमाथि अनुसन्धान गर्न दुईपटक म्याद थप गरिसकेको छ। तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै रहेका छन् ।
प्रहरीले कास्कीमा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाएको छ । रुपन्देही जिल्ला अदालतले गत कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कका लगेर खर्च गरेको कसुरमा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिएको छ । सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।