काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले केही समययता मध्यपूर्वमा चर्किँदै गएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ ।
आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको समीक्षा गरेको हो । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको बताइएको छ ।
अन्तर्राष्ट्रियस्तरमा विकसित तनावपूर्ण घटनाक्रमका कारण विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको छ । बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्रीका लागि नीतिगत स्वीकृति दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।
राष्ट्रिय सुरक्षा परिषद् सुरक्षा निकाय परिचालन गर्ने उच्च स्तरीय संयन्त्र हो। यो प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ। यसमा प्रधानमन्त्री, रक्षामन्त्री,गृहमन्त्री,परराष्ट्रमन्त्री,अर्थमन्त्री,मुख्य सचिव,प्रधानसेनापति सदस्य रहने ब्यवस्था छ ।