काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि चर्चित व्यवसायी एवं भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित रिट दिएका थिए ।
सर्वोच्चले रिट निवेदक तथा विपक्षी एमाले र मीनबहादुरलाई पनि छलफलका लागि झिकाएको छ । बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर गत मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।